भागवत पुराण नेपाली bhagwat puran katha nepali
PART-2
जब मानिसको
जन्म-जन्मान्तरको पुण्य उदय हुन्छ, तब भागवत कथा सुन्न पाइन्छ। जब श्री शुकदेवजी
राजा परीक्षितलाई यो कथा सुनाइरहनु भएको थियो, त्यतिबेला देवताहरू अमृतको कलश लिएर आए, श्री
शुकदेवजीको चरणमा प्रणाम गरे र भने — “यो अमृतको कलश तपाईं राजा परीक्षितलाई
पिलाइदिनुहोस् र बदला स्वरूप हामी सम्पूर्ण देवताहरूलाई अमृतको पान गराउनुहोस्।”
श्री शुकदेवजी भन्नुभयो —
क्व सुधा क्व
कथा लोके क्व काचः क्व मणिर्महान् ।
ब्रह्मरातो विचार्यैवं तदादेवान् जहास ह ।।
श्री
शुकदेवजीले देवताहरूको यो व्यापारिक बुद्धिलाई देखेर भन्नुभयो — “देवताहरू! जस्तै
काँच मणिको बराबरी गर्न सक्दैन, त्यसैगरी स्वर्गको अमृत कथामृतको बराबरी गर्न
सक्दैन। स्वर्गको अमृत दीर्घजीवी बनाउँछ, तर कथामृत मानिसलाई दिव्यजीवी बनाउँछ। स्वर्ग
अमृतको फल — पुण्ये
क्षीणे मर्त्यलोकं विशन्ति — पुण्य क्षीण भएपछि फेरि मृत्युलोकमा आउनुपर्छ। तर
कथामृतको फल — कल्मषापहम् — यो पापहरूको
नाश गर्ने हो।
देवताहरू! यदि
तपाईं जिज्ञासु भएर आउनु भएको भए, भक्त भएर आउनु भएको भए भने म तपाईंलाई अवश्य
कथामृतको पान गराउँथें, तर
तपाईं त व्यापारी भएर आउनु भएको छ, त्यसैले तपाईं यसको अधिकारी हुनुहुन्न।”
श्रीमद्भागवती
वार्ता सुराणामपि दुर्लभा ।।
शौनकजी! यो
श्रीमद्भागवत कथा देवताहरूको लागि समेत दुर्लभ छ। जब श्री शुकदेवजीले देवताहरूको
हाँसो उडाइदिए, तब
देवता मुख लटकाएर ब्रह्माजी कहाँ गए र पृथ्वीमा भएको सम्पूर्ण घटना ब्रह्माजीलाई
सुनाए। ब्रह्माजीले भने — “देवताहरू! दुःखी नहोऊ, सात दिनपछि हेरौं राजा परीक्षितको के
गति हुन्छ।”
र सात दिनपछि
जब राजा परीक्षितलाई मोक्ष प्राप्त भयो, तब ब्रह्माजीलाई ठूलो आश्चर्य लाग्यो। उहाँले
सत्यलोकमा एउटा तराजु बाँधे, त्यसमा एकतर्फ सम्पूर्ण साधनहरू राखे र अर्को
तर्फ श्रीमद्भागवतलाई राखे। भागवतजीको महिमाको अगाडि सबै साधनहरू हलुका परे।
मेनिरे
भगवद्रूपं शास्त्र भागवते कलौ ।
पठनाच्छवणात्सद्यो वैकुण्ठफलदायकम् ।।
त्यो समयमा
सम्पूर्ण ऋषिहरूले माने — यस भागवतको पाठ वा श्रवणबाट वैकुण्ठ प्राप्त निश्चित
हुन्छ। यो श्रीमद्भागवत कथा देवर्षि नारदले ब्रह्माजीबाट सुन्नुभएको थियो, तर साप्ताहिक
कथा उहाँले सनकादि ऋषिहरूसँग सुन्नुभयो। शौनकजीले भने — देवर्षि नारद त एकै
स्थानमा धेरै समय बस्न सक्नुहुन्न, तब उहाँ कुन स्थानमा र कुन कारणले यो कथा
सुन्नुभयो? श्री
सूतजी भन्छन् — एक पटक विशालपुरी बदरिकाश्रममा सत्संगको लागि सनकादि चारै ऋषिहरू
आएका थिए। त्यहाँ उनले नारदजी आउँदै गरेको देखेपछि सोधे —
कथं
ब्रह्मन्दीनमुखं कुतश्चिन्तातुरो भवान् ।
त्वरितं गम्यते कुत्र कुतश्चागमनं तव ।।
देवर्षि! यस
प्रकार तपाईं चिन्तातुर किन हुनुहुन्छ? यति चाँडो तपाईंको आगमन कहाँबाट भएको हो र अब
तपाईं कहाँ जानुहुन्छ?
देवर्षि नारदले
भने —
अहं तु पृथवीं
यातो ज्ञात्वा सर्वोत्तमामिति ।
मुनिश्रेष्ठहरू!
म पृथ्वीलोकलाई उत्तम ठानी त्यसका तीर्थहरूमा भ्रमण गरें — पुष्कर, प्रयाग, काशी, गोदावरी, हरिद्वार, कुरुक्षेत्र, श्रीरंग र
सेतुबन्ध रामेश्वर आदि तीर्थहरूमा गएँ, तर मनलाई सन्तोष दिने शान्ति कतै पाइएन। अधर्मका
मित्र कलियुगले सम्पूर्ण पृथ्वीलाई पीडित बनाएको छ। सत्य, तपस्या, पवित्रता, दया, दान कतै
देखिँदैन। सबै प्राणीहरू आफ्नै पेटको चिन्तामा व्यस्त छन् —
पाखण्डनिरताः
सन्तो विरक्ताः सपरिग्रहाः ।।
सन्तहरू
पाखण्डी भइसके, विरक्तहरू
संग्रही भइसके।
तपसि धनवंत
दरिद्र गृही ।
कलि कौतुक तात न जात कही ।।
घरमा
स्त्रीहरूको प्रभुता छ, सालाहरू
सल्लाहकार बनेका छन्, पति-पत्नीबीच
झगडा छ। यसरी कलियुगका दोषहरू देख्दै म यमुना किनार, श्रीधाम वृन्दावन पुगें, जहाँ भगवान्
श्रीकृष्णको लीला स्थली हो। त्यहाँ मैले एक अद्भुत दृश्य देखें — एक युवती स्त्री
खिन्न मनले बसेकी थिइन्। उहाँको छेउमा दुई जना वृद्ध पुरुष अचेत अवस्थामा चर्को
सास फेर्दै लडेका थिए। ती युवती ती वृद्धहरूलाई उठाउने प्रयास गर्थिन्, जब तिनीहरू
उठ्दैनथे तब उनी रुन थाल्थिन्। सयौं स्त्रीहरू उनलाई पंखा गर्दै बारम्बार
सम्झाइरहेका थिए। त्यो दृश्य टाढाबाट देखेर म नजिक गएँ। मलाई देख्नासाथ ती युवती
उठिन् र भन्न थालिन् —
भो भो साधो
क्षणं तिष्ठ मच्चिन्तामपि नाशय ।।
हे महात्मन्!
केही समय ठहरनुहोस् र मेरो चिन्ताको नाश गर्नुहोस्। मैले सोधेँ — देवी! तपाईं को
हुनुहुन्छ? यी दुई
पुरुष र यी स्त्रीहरू को हुन् तथा तपाईंको दुःख विस्तारपूर्वक वर्णन गर्नुहोस्। ती
युवतीले भनिन् —
अहं भक्तिरिति
ख्याता इमौ मे तनयौ मतौ ।
ज्ञानवैराग्यनामानौ कालयोगेन जर्जरौ ।।
देवर्षि! म
भक्ति हुँ, र यी
दुइजना ज्ञान र वैराग्य मेरा पुत्र हुन्। कालको प्रभावले यी वृद्ध भइसकेका छन् र
यी सबै गङ्गा आदिका नदिहरू मेरो सेवा गर्न यहाँ आएका छन्।
उत्पन्ने
द्रविणे साहं वृद्धिं कर्णाटके गता ।
क्वचित्क्वचिन्महाराष्ट्रे गुर्जरे जीर्णतां गता
।।
म म दक्षिणमा
उत्पन्न भएँ र कर्नाटकमै हुर्किएँ, कतैकतै महाराष्ट्रमा सम्मान प्राप्त गरेँ र
गुजरात पुगेर जीर्ण भइँ। त्यहाँ घोर कलियुगको प्रभावले पाखण्डीहरूले मेरो
अङ्ग-भङ्ग गरे —
वृन्दावनं पुनः
प्राप्य नवीनेन सुरूपिणी ||
तर
वृन्दावन प्राप्त गरेपछि म पुनः युवती भएँ। तर मेरा पुत्रहरू अझै पनि थकित र अशक्त
छन्, त्यसैले
अब म यो स्थान छाडेर अन्यत्र जान चाहन्छु।
देवर्षि नारदले
भने — हे देवी! यो दारुण कलियुग हो, जसले गर्दा सदाचार, योगमार्ग र तपस्या लोप भएका छन्। यस
समयमा सन्त र सत्पुरुषहरू दुःखी छन् र दुष्टहरू आनन्दित। यस्तो अवस्थामा जसको
धैर्य अडिग रहन्छ, उही
साँचो ज्ञानी हो।
वृन्दावनस्य
संयोगात्पुनस्त्वं तरुणीनवा |
धन्यं वृन्दावनं तेन भक्तिर्नृत्यति यत्र च ||
वृन्दावन
प्राप्त गरेर तपाईं फेरि युवती बनिन्। त्यो वृन्दावन धन्य छ, जहाँ भक्ति
महारानी नृत्य गर्नुहुन्छ।
भक्ति देवीले
भनिन् — हे देवर्षि! यदि कलियुग नै अपवित्र हो भने राजा परीक्षितले त्यसलाई किन
स्थापना गरे? अनि
करुणामय भगवान श्रीहरिले पनि यस अधर्मलाई हेरेर किन मौनता साधेका छन्?
देवर्षि नारदले
भने — देवी! जस दिन भगवान श्रीकृष्णले यो लोक त्यागेर आफ्नो धाममा प्रस्थान
गर्नुभयो, त्यसै
दिन कलियुगले साधन मार्गमा बाधा पुर्याउन सुरु गर्यो। दिग्विजयको क्रममा राजा
परीक्षितको दृष्टि कलियुगमा पर्यो, त्यतिबेला कलियुग दीन भावले उनका शरणमा गयो।
भ्रमर जस्तै सारग्रहण गर्न सक्ने परीक्षितले देखे —
यत्फलं नास्ति
तपसा न योगेन समाधिना |
तत्फलं लभते सम्यक्कलौ केशवकीर्तनात् ||
जुन फल
अन्य युगहरूमा तप, योग, वा समाधिद्वारा
प्राप्त हुँदैन, त्यो
फल कलियुगमा केवल श्रीहरिको कीर्तनद्वारा प्राप्त हुन्छ।
यस एक विशेष
गुणको कारण राजा परीक्षितले कलियुगलाई स्थापना गरे। हे देवी, यो कलियुगका
कारण पृथ्वीका सम्पूर्ण पदार्थ बीजरहित भूसीझैं व्यर्थ भएका छन्। धनको लोभले कथा र
सत्संगको सार हराएको छ।
अयं तु
युगधर्मो हि वर्तते कस्य दूषणम् |
यो त
युगधर्म नै हो, यसमा
कसैको पनि दोष छैन।
देवर्षि नारदका
यी वचनहरू सुनेर भक्ति देवी आश्चर्यचकित भइन्। उनले भनिन् — "हे देवर्षि!
तपाईं धन्य हुनुहुन्छ, र
तपाईंको यहाँ आगमन मेरो भाग्यले सम्भव भएको हो। साधुहरूको दर्शनले यस लोकमा समस्त
सिद्धिहरू प्राप्त हुन्छन्।"
जयति जगति
मायां यस्य काया ध्वस्ते, वचनरचनमेकं केवलं चाकलय्य |
ध्रुवपदमपि यातो यत्कृपातो ध्रुवोऽयं, सकल कुशल
पात्रं ब्रह्मपुत्रं नतास्मि ||
जसको
एक उपदेशले कयाधु नन्दन प्रह्लादले मायामाथि विजय प्राप्त गरे र जसको कृपाले
ध्रुवले ध्रुवपद प्राप्त गरे, ती ब्रह्मा पुत्र देवर्षि नारदलाई म नमन गर्छु।
देवर्षि नारदले
भने — हे देवी! तपाईं भगवान श्रीकृष्णका चरणकमलहरूको स्मरण गर्नुहोस्, तपाईंको दुःख
निवारण हुनेछ। जस भगवान श्रीकृष्णले कौरवहरूको अत्याचारबाट द्रौपदीलाई रक्षा गरे, उनी आज पनि
यहाँ छन्। तपाईंलाई त उनी प्राणभन्दा पनि बढी माया गर्छन्। तपाईंको बोलावटमा त उनी
तल्लो घरसम्म पनि जान्छन्।
जब नारदले यसरी
भक्ति देवीको स्तुति गरे,
तब
भक्ति देवीले भनिन् — "हे देवर्षि! तपाईंले क्षणभरमै मेरो दुःख हटाउनुभयो। अब
कृपया यस्तो उपाय गर्नुहोस् जसले मेरा दुई छोराहरूको पनि दुःख हटोस् र तिनीहरूमा
चेतना आउन जाओस्।"
नारदले
ज्ञान–वैराग्यलाई उठाउने प्रयास गरे, तर उनीहरू उठेनन्। उनले तिनीहरूको नाम पुकारे, तैपनि केही
भएन। अनि उनले वेद–वेदान्त र गीता पाठ गर्न थाले। यसले गर्दा उनीहरू जस्तोकस्तै
उठे तर जम्हाई लिएर फेरि सुत्न थाले। यो देखेर नारदले गोविन्दको स्मरण गर्न थाले।
त्यत्तिकैमा आकाशवाणी भयो —
उद्यमः सफलस्तेयं
भविष्यति न संशयः ||